नेपाल ट्राईयाथलन संघले आफ्नो विधान सम्मत सातौं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका कृयाकलाप र समस्याहरुका बारेका साधारण सभामा आफ्ना धारणा राख्नुका साथै संघका गतिविधीलाई सहजतापूर्वक सम्पन्न गर्न के कस्ता कार्य गर्नु पर्ने हो ? त्यसका बारेमा सभामा उपस्थित सदस्यहरु संग समाधानका उपायहरुका बारेमा छलफल गरेका थिए ।
अध्यक्ष श्रेष्ठले आगामी बैशाख १३ र १४ गते (अप्रिल २६ र २७) पोखरामा आयोजना हुने एशिया ट्राइयाथलन कपलाई सफलता प्रदान गर्न केन्द्रिय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिएका थिए । यसैगरि चैत्रमा आयोजना हुने १० औं बृहत राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सिमित प्रदेश संघको गठनलाई तिव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।
संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । संघका उपाध्यक्ष पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता ब्यक्त गरे ।
साधारण सभामा महासचिव युवराज सुनुवारले संघको २०८०÷८१ र २०८१÷८२ को कृयाकलापलाई समेटेको महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष निरज श्रेष्ठले संघको आर्थिक बर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै साधारण सभामा उपस्थित कार्य समितिका सदस्यहरुले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई सफल पार्न र संघलाई मजबुत पार्न आईपर्ने समस्याहरुलाई समाधान गर्न आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया