सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि आज आदेश आउन सक्ने देखिएको हो।
बुधबार मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको कानुन व्यवसायीको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए।
सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।
प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ। जवाफी बहस सकिएपछि आदेश आउने छ।
थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन्।
आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ ।
थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिवादीमध्ये रविविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी गरिएको छ ।
सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ ।
अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।
कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ ।
थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।
पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि भोलि नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्नेछन् ।
प्रतिक्रिया