काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापालाई 'राजनीतिक चड्कन' दिएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कांग्रेसको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशसँगै कांग्रेस पुरानै अवस्थामा फर्किएको र अबको सभापति शेरबहादुर देउवा नै भएको दाबी गरे ।
सर्वोच्च अदालतको पूर्ण इजलासले गत बिहीबार मात्रै गगन थापा नेतृत्वको कमिटीलाई वैधानिकता दिने यसअघिको फैसलालाई पुनरावलोकन गर्ने अनुमति दिएपछि कांग्रेस वृत्तमा नयाँ तरंग पैदा भएको छ ।
"गगन थापाको चटके रङ अब उड्छ"
नेता बस्नेतले वर्तमान सभापति गगन थापाप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै उनीमाथि 'चटक' देखाएको गम्भीर आरोप लगाए । "गगन थापाले निर्वाचनअघि आफू प्रधानमन्त्री बन्ने भन्दै जनता र कार्यकर्तामाझ चटक देखाएका थिए सर्वोच्चको यो आदेशपछि उनको त्यो चटके रङ अब उड्छ । कांग्रेस त पुरानो अवस्थामा गइसक्यो नि अब त्यसकारणले अबको सभापति भनेको शेरबहादुर देउवा नै हो ।" बस्नेतले पूर्वसभापति शेरबहादुर देउवाको अनुहारले भोट आउँदैन भन्नेहरूलाई जवाफ दिँदै देउवाकै नेतृत्वमा कांग्रेसले विगतमा बहुमत हासिल गरेको स्मरण गराए । "आफू कहिल्यै नहार्ने देउवाको अनुहारले काम नहुने रे, अनि गगन थापाको तर्साउने अनुहारले भोट आउने ?" भन्दै उनले प्रश्न गरे ।
पार्टीभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षमा रहेका बस्नेतले गत चुनावमा आफूले गगन थापा पक्षका उम्मेदवारहरूलाई सहयोग नगरेको कुरा खुल्ला रूपमा स्विकारेका छन् ।
मैले चुनावमा केको अन्तर्घात गर्नु ? मैले त खुल्ला घात गरेको हो । पार्टीमा दशकौँ योगदान दिएका स्थापित र पुराना नेताहरूलाई अपमान गर्ने र पाखा लगाउने नीति नयाँ नेतृत्वले लिएपछि मैले सहयोग नगरेको हुँ ।"
यसअघि गगन थापा समूहले आयोजना गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो, जसलाई सर्वोच्चको संयुक्त इजलासले पनि सदर गरेको थियो । तर त्यसविरुद्ध शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति (निस्सा) प्रदान गरेपछि अब ३ सदस्यीय इजलासमा यो मुद्दाको फेरि सुरुदेखि सुनुवाइ हुँदैछ ।
यता सभापति गगन थापाले भने अदालतको आदेशलाई आफूहरूले पूर्ण सम्मान गर्ने र विशेष महाधिवेशन वैधानिक रूपमै भएकाले अदालतबाट पुनः न्याय पाउने विश्वास व्यक्त गरिसकेका छन् ।
प्रतिक्रिया