काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब ३ साता (२० दिन) लामो बिदापछि पुनः आफ्नो नियमित कार्यसम्पादनमा फर्किएकी छन्। प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाको घटनाक्रमपछि बिदामा बसेकी न्यायाधीश मल्ल सोमबारदेखि सर्वोच्च अदालतमा हाजिर भएकी हुन्।
लामो समयको अन्तरालपछि अदालत फर्किएकी मल्लले सोमबारैबाट नियमित इजलासमा बसेर मुद्दाको सुनुवाइ समेत सुरु गरेकी छन्। सर्वोच्च अदालतको रोलक्रममा वरिष्ठतम स्थानमा रहेकी न्यायाधीश मल्लको बिदा बसाइलाई न्यायिक वृत्तमा निकै चासोका साथ हेरिएको थियो। नयाँ प्रधानन्यायाधीशको नियुक्ति र न्यायपालिकाभित्रको आन्तरिक समीकरणका बीच उनी बिदामा बसेकी थिइन्।
२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी मल्ल नेपालको भावी प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेकी छिन्। लामो समयको बिदापछि उनी इजलासमा फर्किएसँगै सर्वोच्च अदालतको दैनिक मुद्दा फर्स्योट र इजलास व्यवस्थापनमा थप सहजता आउने विश्वास गरिएको छ।
प्रतिक्रिया