काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणमा पुगेका छन्। रास्वपाको हालै सार्वजनिक आन्तरिक विवरण अनुसार देशभरका कुल ५६ जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाहरूमा पनि नेतृत्व चयन र निर्वाचनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ।
कोसी प्रदेश: कुल १४ जिल्लामध्ये १३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। झापा, मोरङ, सुनसरी, इलाम, धनकुटासहितका जिल्लाहरूले नयाँ नेतृत्व पाइसकेका छन् भने उदयपुरमा यतिबेला निर्वाचन प्रक्रिया चलिरहेको छ।
मधेस प्रदेश: मधेसका जिल्लाहरूमा भने चुनावी सरगर्मी निकै बढेको छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही निर्वाचनको चरणमा प्रवेश गरिसकेका छन्। त्यस्तै धनुषामा जेठ २६ गते तथा सप्तरी र बारामा जेठ २७ गते निर्वाचन हुने कार्यतालिका तय भएको छ।
बागमती प्रदेश: १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरसहित १२ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। प्राविधिक कारणले सिन्धुपाल्चोकको अधिवेशन भने हाललाई स्थगित गरिएको छ।
गण्डकी प्रदेश: स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सकिएको छ। नवलपुरमा निर्वाचन प्रक्रिया जारी छ भने बागलुङमा सहमति जुटेको भनिए पनि उजुरी परेका कारण केही अन्योल देखिएको छ।
लुम्बिनी प्रदेश: लुम्बिनीका सबै १२ वटा जिल्लाहरू (गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायत) मा अधिवेशन प्रक्रिया सफलतापूर्वक शतप्रतिशत सम्पन्न भइसकेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश: कर्णालीका कालिकोट, सल्यान, रुकुम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेख निर्वाचनको प्रक्रियामा छन्। सुदूरपश्चिमका बैतडी, बझाङ, डडेलधुरा र कैलालीसहित ६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने डोटी र बाजुरामा निर्वाचनको चरण चलिरहेको छ।
समग्र देशको अवस्थालाई हेर्दा हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ वटा जिल्लाहरू निर्वाचनको अन्तिम चरणमा छन्।
यसैगरी, भौगोलिक विकटता र अन्य विविध कारणले डोल्पा, हुम्ला, मुगु, रुकुम पूर्व, मनाङ र मुस्ताङ गरी ६ वटा हिमाली तथा दुर्गम जिल्लाहरूमा भने अहिलेसम्म अधिवेशन हुन सकेको छैन। रास्वपाले यी बाँकी रहेका दुर्गम जिल्लाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरेर राष्ट्रिय महाधिवेशनको जग बलियो बनाउने तयारी गरेको बुझिएको छ।
प्रतिक्रिया