×

एमाले प्रवेश गर्दै मेयर, माओवादीले गर्यो कारबाही

images

विराटनगर । उद्योगी व्यवसायीको पहिचान बनाउँदै राजनीतिमा उदाएका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया(अग्रवाल) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

रंगेलीमा बुधबार जनसभाको आयोजना गरेर उनी लगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउने तयारीमा एमाले छ। अध्यक्ष केपी शर्मा ओलीले बगडियासहितका जनप्रतिनिधि र अरु पार्टी परित्याग गरेकाहरुलाई जनसभामार्फत पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले मोरङका सचिव रूपेश खतिवडाले बताए। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर ८ हजार ८६ मत ल्याउँदै बगडिया मेयरमा विजयी बनेका थिए। 

सर्वोच्च अदालतको फैसलाबाट नेकपा (नेपाल कम्युनिष्ट पार्टी) भंग भएर एमाले र माओवादी केन्द्र बनेपछि उनी माओवादीबाट टाढिएका थिए। स्रोतका अनुसार माओवादीका नेताहरुसँग सम्बन्ध बिग्रिएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन्। बगडियाले पनि आफू एमाले प्रवेशको अन्तिम तयारीमा रहेको बताए। 

आफ्नो पार्टी छाडेर एमालेमा जाने भएपछि उनलाई माओवादीले कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको छ। माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोद्धारा जारी विज्ञप्तिमा बगडियालाई फागुन १५ गतेबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ। ‘पार्टी हित र आचरणविपरीत काम गरेका कारण साधारण सदस्यता पनि खारेज गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पालिका प्रमुखबाट निष्काशनका लागि भने पार्टी केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगमा सिफारिस गरिएको छ।’ 

बगडियाले व्यावसायिक हितलाई मात्रै ध्यान दिएको र पार्टी हितविपरीत गतिविधी गरेका कारण कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ। अग्रवाललाई माओवादीले रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारी दिएको थियो। उनले पार्टीलाई क्षति पुग्ने गतिविधी गर्दै पार्टी र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यावसायिक स्वार्थमा प्रयोग गरेको ठहर माओवादीको छ।

 

मङ्गलबार २४ फागुन २०७८ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया