ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको दोस्रो विधान महाधिवेशन विभिन्न दस्तावेज पारित गर्दै समाप्त भएको छ ।
यस विधान महाधिवेशनले तीन प्रमुख दस्तावेज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।
त्यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराको प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार बिभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत गरिएको थियो भने शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल भएको थियो र अन्तिम दिन आज दस्ताबेज सर्वसम्मतले पारित गरेको गौतमले जानकारी दिएका छन् । त्यस्तै विधान महाधिवेशनले २९ वटा विभिन्न प्रस्ताव पारित गरेको गौतमले बताए । त्यस्तै डा. विजय सुब्बा अध्यक्ष रहेको २५ सदस्य रहेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।
प्रतिक्रिया