काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ । किङ सिटी स्टेडियममा गएराति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।
क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे ।
विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो । क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेले । आरोन जोनसनले ४४ रन जोड्दा अमर खालीदले अविजित ३० रन बनाए ।
नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो। अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
प्रतिक्रिया