×

‘चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’

images

काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम गरेको छ । एपेक्स स्कुल र भानु प्रतिष्ठानको श्रष्टासम्मान कार्यक्रमबाट यस वर्ष वरिष्ठ कवी प्राडा कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।  

सम्मान कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताउनुभयो । उहाँले नेपालमा भन्दा पनि नेपाल बाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गर्नुभयो ।

सम्मानित व्यक्ति प्राडा बरालले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र भाषा साहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको बताउनुभयो । विद्यालयका कार्यकारी निर्देशक एवं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल ९एनप्याब्सन० का सहअध्यक्ष सुवास न्यौपानेले भानुभक्तको जन्मथलो तनहुँको चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 
प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले राष्ट्रका योजकमाथि प्रश्न उठिरहेको आजको समयमा भाषाका माध्यमबाट देशको एकीकरण गर्ने भानुभक्तको महत्व अझै चुलिएको बताउनुभयो । उक्त विद्यालयले यसअघि भानु जयन्तीको अवसरमा रमेश विकल, पूर्णप्रकाश नेपाल यात्री, वसन्तकुमार सम्मा, डा तुलसी भट्टराई, महेश पौडेललगायतका  श्रष्टालाई सम्मान गरिसकेको प्रधानाध्यापक प्रभात क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यालयकी निर्देशक विन्दु अधिकारीका अनुसार २०५० सालमा स्थापना भएको एपेक्स लाइफ स्कुलमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् । सोही कार्यक्रममा वरिष्ठ कवीहरु भाग्यशाली अधिकारी, महेश पौडेल, रामबहादुर पहाडी, देवी बराल, शिवराज खनाल, मधुस न्यौपाने, देवु लुइँटेल, प्रभा भट्टराई, मधुसुदन लामिछाने, बलराम दाहाल, ढुण्डीराज पोखरेललगायतले कविता वाचन गर्नुभएको थियो ।

वतृत्वकला प्रतियोगितामा चापागाईं प्रथम

एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुल बानेश्वरकी छात्रा शिक्षा चापागाईँ प्रथम हुनुभएको छ ।

यस्तै प्रतियोगितामा भ्याली भ्यू स्कुलका छात्र पार्थ पराजुली दोस्रो, पाणिनी स्कुलकी छात्रा सिम्रन प्रसाईं तेस्रो र काठमाडौँ प्रज्ञान कुञ्ज स्कुलकी छात्रा रियाना बोगटीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयकी शिक्षिका चण्डिका भेटवालले जानकारी दिनुभयो ।

बिहीबार २३ असार २०७९ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया