×

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की, पूर्वसचिवहरू र उच्च पदस्थ कर्मचारीहरूले ठेक्का सम्झौताको प्रतिकूल हुने गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर राज्यलाई ठुलो नोक्सानी पुर्‍याएको दाबी गरेको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार आयोगले उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दर्ता गराएको हो।

यस मुद्दामा कार्कीका साथै तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य, दुण्डुराज घिमिरे, केवल भण्डारी तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलाई समेत विपक्षी बनाइएको छ।

भ्रष्टाचारमा संलग्न रहेको आरोपमा उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालसँगै निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ, त्यसका अध्यक्ष र परियोजना व्यवस्थापकविरुद्ध पनि मुद्दा चलाइएको छ।

पोखरा विमानस्थल निर्माणमा भएको अनियमिततालाई लिएर अख्तियारले दर्ता गरेको यो तेस्रो ठुलो मुद्दा हो, जसले विकास आयोजनाहरूमा हुने नीतिगत र प्रक्रियागत भ्रष्टाचारको गम्भीर पाटोलाई उजागर गरेको छ।

बिहीबार २४ बैशाख २०८३ ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया