×

मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

images

गलेश्वर-  वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् ।

निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने  भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले  चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन् ।

बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत माग्नुभयो । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ ।

चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताउनुभयो । “अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उहाँले भन्नुभयो ।

मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बन्नुभएका रेशम जुग्जाली (सुविन)ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहनुभएको छ । मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताउनुभयो ।

नेपाली कांग्रेस म्याग्दीले उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ ।”

धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै हुनुहुन्छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उाँको भनाइ छ ।

त्यसैगरी बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् । मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ ।

खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन् ।

म्याग्दीका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् ।  कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मालिका–४ स्थित खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत माग्नुभएको छ । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेको रोकाले बताउनुभयो ।

आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उहाँको भनाइ छ । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको उहाँले बताउनुभयो । मालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिने गरेको उहाँले जानकारी दिनुभयो । आफ्नो चुनावी घोषणापत्र भए पनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने रोकाले बताउनुभयो ।

त्यसैगरी एमालेको तर्फबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की (दीपक) पनि मकै बारीमा पुगेर मतदातालाई भेट्नुभएको छ । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उहाँले बताउनुभयो । बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । 

कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट बेनी नगरपालिकाका प्रमुख र उपप्रमुखका  उम्मेदवार चिरञ्जीवी शर्मा र ज्याति लामिछाने पनि खेतबारीमा काम गरिरहेका किसान, मजदुर र वनजङ्गलमा गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त हुनुहुन्छ । बेनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार सुरत केसी पनि  घरघरमै पुगेर मतदातालाई भेटघाट गर्न व्यस्त हुनुहुन्छ । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उहाँले बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट बेनी  नगरपालिकाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र उपप्रमुखका उम्मेदवार ज्योति लामिछानेले नगरपालिकाका १० वटै वडामा घरदैलो गरिरहनुभएको छ । घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार शर्माले बताउनुभयो । 

छवटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नं १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको हो । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ वडामा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल नभएपछि जिल्लाभरमा तीन पदबाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन् ।

शनिबार २४ बैशाख २०७९ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया