×

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खाेल्ने प्रस्ताव 'क्याबिनेट' मा पुगेकाे छ - मन्त्री पाैडेल

images

काठमाण्डाै ।  सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेट (मन्त्रिपरिषद्) मा पेस गरिएको जानकारी दिनुभएको हो । उहाँले खरबाैँ रुपैयाँ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नुपरेको पनि स्पष्ट पार्नुभयो । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयाे, ‘हाम्रोमा ११ वटा विश्वविद्यालय छन् तर नचल्ने, विद्यार्थीले नखोज्ने विषय पढाएर के काम ? जबकि सात हजार विद्यार्थी एमबीबीएस, एमडी बङ्ग्लादेश जान्छन् । एक वर्षको रकमको हिसाब गर्दा झन्डै एक खर्ब ९७ अर्ब रुपैयाँ रकम जापान, अस्ट्रेलिया, बङ्ग्लादेश, चीन, भारत पढ्न गएका विद्यार्थीबाट खर्च भएकाे पायाैँ । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिइ डाक्टर हुन पाउने । हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौँ । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ, उनीहरूलाई विस्थापित गर्ने भनेको होइन ।’

मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै पालिकामा पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि जानकारी दिनुभयाे । 

बिहीबार २४ चैत २०७८ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया