×

किन बढ्दै छ युवा पुस्तामा मानसिक समस्या  

images

काठमाडौं । मानसिक स्वास्थ्य, स्वास्थ्यको एउटा अभिन्न अंग हो । जसरी शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु जरुरी छ । मानसिक स्वास्थ्य व्यक्तिको जीवनस्तर तथा कार्य क्षमतासँग सम्बन्धित संवेदनशील विषय हो ।  विगतमा प्रौढ उमेर पछिमात्र देखिने विश्वास गरिएको मानसिक स्वास्थ्य समस्या हाल युवामा समेत बढी देखिन थालेको अध्ययनले देखाएको छ ।


मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणहरूबाट व्यक्तिको मनका भावना, विचार वा सोचाइहरूमा विचलनले गर्दा मानिसमा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यवहारिक परिर्वतनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ । जसको कारण व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्छ । यस्तो समस्या जुनसुकै लिंग तथा उमेर समूहलाई पनि हुन सक्छ । 
 

मानसिक स्वास्थ्य समस्याका लक्षण
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा भावनात्मक लक्षणहरू जस्तै– दुःखी महसुस गर्ने, धेरै डराउने, आत्तिने, बिनाकारण उदास हुने, आत्मसम्मानमा कमी हुने लक्षण देखिन्छन् । त्यस्तै सोचाइजन्य लक्षण जस्तै– निरासपूर्ण सोच आउने, निर्णय गर्न नसक्ने, आत्महत्याको सोचाइ आउने, चिन्ता लागिरहने, स्मरण शक्तिमा ह्रास आउने हुन्छ ।
शारीरिक लक्षणमा अत्यधिक थकान महसुुस गर्ने, दुब्लाउँदै जाने, कमजोर वा शिथिल हुने, निन्द्रामा गडबडी हुने, खानामा रुची घट्ने आदि लक्षण देखिन्छन् भने व्यवहारिक समस्यामा शंका गर्ने, बरबराउने, आफ्नो स्वास्थ्यमा बेवास्ता गर्ने, रिसाउने, आक्रामक हुने र समाजलाई मान्य नहुने व्यवहार गर्ने आदि लक्षण देखिन्छन्

। 
बेवारिसे बालबालिका, एकल, गर्भवती, सुत्केरी, घरेलु तथा लैंगिक हिंसा प्रभावित महिला, जेष्ठ नागरिक, लागूऔषध दुव्र्यसनमा परेका, विविध खालको दुव्र्यवहार र विभेदमा परेका व्यक्ति, द्वन्द्वबाट प्रभावितहरू मानसिक स्वास्थ्य समस्याको बढी जोखिममा रहेको पाइएको छ ।
युवापुस्तामा देखिएको मानसिक स्वास्थ समस्याका कारणवारे यसो भन्छन मनोविदहरु 

-    वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्चआकांक्षाको स्तर ।
-    बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता ।
-    रुचि र करिअर छनोटमा तालमेल नहुनु 
-   गलत प्रतिस्पर्धा ।
-    बालमनोविज्ञानको अभाव
-    आमाबुबा र पारिवारिक झै–झगडा ।
-   वैवाहिक जीवन सोचेजस्तो नहुनु ।
-   बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक विछोड ।
-    आघातजन्य घटना, मानसिक समस्याप्रति लान्छना र भेदभाव ।
-    रीतिरिवाज, धर्म, संस्कृति र परम्परा ।
-   इन्टरनेट र लागूऔषधिको दुरुपयोग ।
-   आर्थिक संकट र दीर्घरोग ।
-   संस्कार र युवाभावनाबीच मतभेद ।
-    सञ्चार, फेसन र सिकाइ ।

समाजले मानसिक उपचार गराइरहेको व्यक्तिलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको हुनाले मानसिक रोगको समस्या भएका अधिकांश व्यक्ति उपचार गराउन चाहँदैनन् । विभिन्न गलत भ्रमका कारण पनि उनीहरु चिकित्सकको परामर्शमा आउन नचाहेको बुझाइ मनोरोग विशेषज्ञ र मनोविद्हरुको रहेको छ । 
जतिसक्दो छिटो उपचार गर्यो भने यो रोगले केही बाधा पुर्याउँदैन । जटिल र सामान्य खालका सबै मानसिक समस्याको उपचार संभव छ । 

मङ्गलबार २४ माघ २०७९ ०६:४८ PM मा प्रकाशित

प्रतिक्रिया