काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल नहुने भएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्नका लागि नेकपाले मतभार अनुसार कम्तीमा चार सिट दाबी गरेको थियो । तर एमालेका अध्यक्ष केपी ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा भागबण्डा नमिलेपछि नेकपा बाहिरेको छ ।
कांग्रेस र एमालेले आफूखुसी भागबण्डा गरेकाले एकल उम्मेदवारी दिने तयारी भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनको चुनावी तालमेलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। मंगलबार राति भएको छलफलमा सिट बाँडफाँटमा कुरा नमिलेपछि नेकपा बाहिरिएको हो।
छलफलमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकका अनुसार नेकपाले चार सिट दाबी गरेको थियो। नेपाली कांग्रेस र नेकपा एमालेले नेकपालाई तीन सिटको प्रस्ताव गरेका थिए। तर नेकपाले आफूहरूको मतभारअनुसार चार सिट पाउनुपर्ने अडान नछाडेपछि कुरा बिग्रिएको लेखकले बताए।
‘खोई उहाँहरूले अहिले नगरौं भन्नु भयो, हामीले मतभारभन्दा एक सिट कम लिएकाले उहाँहरूलाई पनि मतभार भन्दा कम लिन भनेर एमालेलाई मतभार भन्दा एक सिट थप्ने भन्ने कुरा गरेका थियौं, उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘अब कांग्रेस एमाले र मधेसबाट महन्थ ठाकुरलाई दिने भन्ने कुरा भएको छ।’
नेकपा नेता अग्नि सापकोटाले आफ्नो मतभार अनुसार राष्ट्रिय सभामा चार सिट दाबी गरेको र त्यसमा कुरा नमिलेको बताए। ‘हामीले मतभार अनुसार ४ सिटमा दाबी गरेका थियौं। तर उहाँहरू मान्नुभएन,’ उनले भने। यस्तै नेकपासँग तालमेलका लागि सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्।
कांग्रेस, एमाले र जसपा नेपालबीचको सहमति अनुसार कांग्रेसले आफ्नो तर्फबाट नौजना उम्मेदवार टुंगो लगाएको छ। यी तीन दलबीचको सहमतिसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा यो सहमतिबाट बाहिरिएको छ। नेकपाले कांग्रेस र एमालेसँग चार सिटको दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ।
उनले अब सबै प्रदेशमा एकल उम्मेदवारी दिने तयारी गरेको छ। तीन दलले आज बिहान राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्। कांग्रेसको आन्तरिक भागबण्डामा शेखर कोइराला पक्षबाट रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटाले अवसर पाएका छन्।
यस्तै नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो । नेकपा स्रोतका अनुसार कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् । लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ । यस्तै कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।
सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ । बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको छ ।
यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामा र अर्का एक जनाको नाम टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया