×

मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रकाशमानको प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र

images

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी पनि गराएका छन्।

अघिल्लो वर्षको बाढीपहिरोबाट क्षति पुगेको मेलम्चीमा अहिले अन्यौल बढेकाले खानेपानी समस्या समाधानका लागि आयोजनालाई दिर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणको निष्कर्षसहित तत्काल र पछिसम्मका लागि गर्नुपर्ने कामको ९ बुँदामा सुझाव दिइएको छ । ‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने,’ प्रधानमन्त्री देउवालाई सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोक हेलम्बुसहित पालिकाका बासिन्दासँग छलफल गरी विभिन्न विषयमा टुंगोमा पुग्नसमेत उनीहरूको माग छ। उनीहरूले सिएमसीले राखेका माग कानूनको परिधिभित्र रहेर सम्बोधन गर्न आवश्यक कार्य गर्नसमेत सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। मेलम्चीको पानी हिउँद मात्र नभई बाह्रै महिना काठमाडौं ल्याउने गरी आयोजनास्थलमा काम गर्नुपर्ने माग उनीहरूको छ।

साथै मेलम्ची खानेपानी विकास समितिमार्फतका कर्मचारीको पारिश्रमिकलगायत विषय तत्काल सम्बोधन गर्न पनि उनीहरूले माग गरेका छन्। विकास समितिका ६१ जना कर्मचारीले गत साउनदेखि तलब खान पाएका छैनन्। उनीहरूले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति धन्यबादसमेत दिएका छन्। साथै बाढीपहिरो पछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अघि बढाउन पनि उनीहरूले माग गरेका हुन्।

उनीहरूले अहिले खानेपानीको इन्टेक रहेको ठाउँ असुरक्षित भए/नभएको प्राविधिकबाट अध्ययन गरी/गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउन माग गरेका छन्। मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्न पनि उनीहरूको माग छ।

‘मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ। अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं। तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं। तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँ।’

मङ्गलबार २० मंसिर २०७९ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया