×

सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

images

चितवन, १९ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उहाँको भनाइ थियो ।
 
 जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।”  समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर  अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष प्रमेश हमालले वर्गीय समाजवादलाई बलियो बनाउनका लागि समाजवादी चिन्तन अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी क्रान्ति ल्याउनका लागि समाजवादी चिन्तन आवश्यक छ ।”
 
महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (एस)का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो । नेकपा समाजवादीले आज राप्ती नगरपालिकाको भण्डारा बजारमा अभियानै क्रममा कोणसभासमेत सम्पन्न गरेको छ ।

शुक्रबार​ १९ असोज २०८० ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया