काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक पूरा नगर्ने र नागरिकको काममा ढिलासुस्ती गर्ने जनप्रतिनिधि तथा पदाधिकारीहरू विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्। आइतबार तनहुँको शुक्लागण्डकीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले काम नगर्ने प्रदेश मन्त्रीहरूलाई थुन्ने र स्थानीय तहका मेयरहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका हुन्।
नेपालको संविधानले तीन तहको स्वायत्त सरकारको परिकल्पना गरेको अवस्थामा संघीय सरकारका मन्त्रीबाट अन्य दुई तह (प्रदेश र स्थानीय) का जनप्रतिनिधिलाई लक्षित गरी यस्तो आक्रामक अभिव्यक्ति आएको हो। तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री लम्सालले सार्वजनिक सेवा प्रवाहमा हेलचेक्य्राईं गर्नेहरूलाई नछाड्ने स्पष्ट पारे।
स्थानीयबासीहरूसँग अन्तर्क्रिया गर्दै उनले भने:
"यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, हामी आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने हामी थुन्छौं। जसरी पनि काम हुनुपर्छ र जनताले दुःख पाउनु हुँदैन।"
मन्त्री लम्सालले नागरिकलाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो पदीय जिम्मेवारी पूरा नगर्ने पदाधिकारीहरूको बारेमा सम्बन्धित निकायमा सूचना दिन सर्वसाधारणलाई आग्रह समेत गरे। गैरजिम्मेवार पदाधिकारी फेला परेमा कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
मन्त्री लम्सालले शुक्लागण्डकीमा दिएको उक्त अभिव्यक्तिको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। तीन तहको संघीय संरचनामा स्थानीय र प्रदेश सरकार स्वायत्त हुने कानुनी व्यवस्था रहेकाले संघीय मन्त्रीले क्षेत्राधिकार मिचेर धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै उनको आलोचना सुरु भएको छ।
यसअघि पनि मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ भनी विवादित अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति सेलाउन नपाउँदै पुनः जनप्रतिनिधि र प्रदेश मन्त्रीहरूलाई नै थुन्ने चेतावनी दिएपछि उनको राजनीतिक तथा प्रशासनिक कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
प्रतिक्रिया