काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले चेन्नाई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ। घरेलु मैदान चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको खेलमा बैंगलुरुले प्रस्तुत गरेको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाई १९.४ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पारेको थियो । यो जारी सिजनकै उच्च स्कोर हो ।
बेंगलोरुका लागि मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए। उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै, देवदत्त पडिक्कलले २९ बलमा ५० रन र ओपनर फिल साल्टले ३० बलमा ४६ रन बनाए । कप्तान रजत पातिदारले समेत विष्फोटक ब्याटिङ गर्दै १९ बलमा ४८ रन जोडेपछि बैंगलुरु बलियो स्थितिमा पुगेको थियो।
चेन्नाईका लागि अंशुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले समान १–१ विकेट लिए पनि उनीहरु महंगो सावित भए। २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाईको सुरुवात निकै खराब रह्यो । ९ रनमै कप्तान रुतुराज गायकवाडलाई गुमाएको चेन्नाईले लगातार विकेट गुमाएपछि दबाबमा आएको थियो ।
चेन्नाईका लागि सरफराज खानले २५ बलमा ५० र प्रशान्त वीरले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । जेमी ओभरटनले १६ बलमा ३७ रनको योगदान दिएका थिए । तर, अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा चेन्नाईले लक्ष्य भेट्न सकेन ।
बेंगलोरका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट हात पार्दा अभिनन्दन सिंह, ज्याकोब डफी र क्रुनाल पाण्ड्याले २–२ विकेट लिए ।
यो जितसँगै आरसीबी लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिको छ । समाचार चार अंक भएका अपराजित राजस्थान, दिल्ली र पञ्जाब क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । आईपीएल यो सिजनमा चेन्नईको यो लगातार तेस्रो हार हो ।
प्रतिक्रिया