×

धरौटीमा छुटेपछि रवि भन्छन, परिवर्तनको लडाइँ अझै बाँकी छ

images

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोपमा लामिछानेविरुद्धको मुद्दामा बुधबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको थियो।

चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।

यसैगरी जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए।

त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरेको विश्वकर्माले जानकारी दिए। यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए। 

धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा बोल्दै उनले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए । 
 
सभापति लामिछानेलेले परिवर्तन जन्मिएरै छोड्ने बताए । उनले भने, ‘चितवनले परिवर्तनका लागि उद्घोष गरिसकेको हो । अघिल्लो पटक निर्वाचनमा नै यो व्यक्ति चुनेको होइन देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देश व्यापी हुन्छ ।’  

सभापति लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए । 

उनले भने, ‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो । यहाँ देवता जस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु । चितवनवासी आमाबुबा, दिदिभाईहरुले मेरो न्यायका लागि बारम्बार लड्नुभएको छ ।’ 

बिहीबार २४ माघ २०८१ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया