काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामको संस्थाको अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । धम्कीपूर्ण इमेल प्राप्त भएलगत्तै नेपाल प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ । धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ। चार दिनअघि जाहेरी प्राप्त भएपछि काठमाडौँ प्रहरीसहित विभिन्न युनिटले अनुसन्धान गरिरहेका छन्।
यस्तै धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक भने फिलिपिन्समा रहेको पत्ता लागेको हो। उनका तीन जना सहयोगीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्। तर धम्क्याउने कसुरमा भने संलग्नता नरहेको दाबी उनले गरेका छन्। प्रकाशले अख्तियार प्रमुख राईसहितको ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएका थिए। सोही आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ।
‘यसमा प्राविधिक रूपमा पनि अनुसन्धान अगाडि बढिसकेको छ। केही व्यक्तिले परिचालन गरेको हो कि भन्ने शंका छ। पक्राउ परेकाहरूले भने आरोप स्वीकार गरेका छैनन्। तर भिडिओ जसरी आइरहेको छ, यसमा शंका गर्नुपर्ने ठाउँ देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । धम्की प्राप्त गर्नेहरूमा प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत छन् । इमेलमा लेखिएको छ, ‘हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक तथा अस्थिर सरकारका कारण सत्तामा पुगेका व्यक्तिको हत्या गर्ने निर्णय गरेकोमा हामी दु:खी छौँ । तपाईँले १० दिनभित्र राजीनामा दिनुहोस्, नत्र मारिनुहुनेछ । राजीनामा दिएमा आक्रमण हुने छैन ।’
पाठकले भदौ २४ गते कारागारबाट भागेका कैदीहरूलाई प्रयोग गरेर आक्रमण गर्ने र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने उल्लेख गरेका छन् । पाठक विदेशमा भएको आशङ्का प्रहरीको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहित विभिन्न गुप्तचर युनिटले पाठकको खोजी तीव्र बनाएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘मैले दिएको १० दिनको अल्टिमेटम सकिनुअघि नै प्रेम राईलाई सिद्ध्याउँछौँ । राजीनामा दिनुको सट्टा उनले मेरो केटाहरूलाई पक्राउ गर्न लगाएका छन् । यदि यस्तै गरिरहने हो भने उनको आयु धेरै लामो छैन । म जुन–जुन ठाउँमा भारतमा बसेको थिएँ, त्यहाँ–त्यहाँ नेपाली प्रहरीले भारतीय प्रहरी लगाएर छापा मार्यो । तर म अहिले अति गोप्य ठाउँमा छु । एक घण्टामा चारवटा ठाउँ बदल्छु । मलाई पक्राउ गर्नु सम्भव छैन । प्रेम राईले आफ्नो ज्यानको सुरक्षा गरे हुन्छ ।’
प्रतिक्रिया