काठमाडौँ । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । सहकारी ठगी प्रकरण मा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।
सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।
सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिएको हो।
कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो। थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो। तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ।
पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो।
आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्दै आएका छन्। गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उनले बयान दिएका छन्।
कतिपयले बयान सकिएको भनेर बताईरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन् । लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ।
प्रतिक्रिया