काठमाडौं। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो।
योसँगै रविलाई अनुसन्धान गर्न तेस्रोपटक म्याद थप भएको छ। यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। अदालतले सोही दिनदेखि गणना हुने गरी म्याद थप गरेको हो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि पहिलोपटक कात्तिक ४ गते अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।
यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको थियो। यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो। खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो।
प्रतिक्रिया