×

आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश

images

काठमाडौँ, १८ असोज : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, “रिगल ढकालको हकमा मिति २०८०÷६÷३ मा राष्ट्रपतिद्धारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०-०६-२४ भित्र झिकाउनू ।”

रिगल विवादलाई छिटो–छरितो रूपमा  निरुपण गर्नुपर्ने देखिएकाले पूर्ण सुनुवाइका लागि यही असोज २५ गते पेशी तोकी अग्राधिकार दिई सुनुवाइको व्यवस्था गर्ने र आकस्मिकरूपमा बिदा परेमा त्यसको भोलिपल्ट सुनुवाइको व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेशमा भनिएको छ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो ।

बिहीबार १८ असोज २०८० ०८:३८ PM मा प्रकाशित

प्रतिक्रिया