×

सुन प्रकरणमा तानिए पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन

images

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग कनेक्सन देखिएपछि पुनको सीआईबीले बयान लिएको हो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ ।

पुन नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परेका छन्। सोमबार मात्रै सीआईबीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको थियो। 

हङकङ र भारतमा पुगेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। हङकङबाट ब्रेकप्याडमा ल्याएको करिव ६० किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो। सुन बरामद गरेसँगै यसमा संलग्न केही व्यक्ति तत्काल पक्राउ परेका थिए। 

तर १८ दिन अनुसन्धान गरेर यो मुद्दा राजश्व अनुसन्धान विभागले प्रहरीलाई बुझाएको थियो। राजश्वले पक्राउ गरेका १७ जनालाई पनि सीआईबीको जिम्मा लगाएको थियो। सीआईबीले पछि ६ चिनियाँसहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ।

प्रतिवेदन बुझाउने अवधि नजिकिँदै जाँदा सीआईबीले यसमा जोडिएका व्यक्तिहरुको पनि कागज गराईरहेको सीआईबी स्रोतले जनाएको छ।  बरामद भएको ६० किलो सुन प्रकरणमा अहिलेसम्म मुख्य योजनाकारका रुपमा चिनियाँ मात्रै पक्राउ परेका छन्।  अनुसन्धान जारी रहे पनि अन्य व्यक्तिको संलग्नता पुष्टि भइनसकेको सीआईबीले जनाएको छ। 

पक्राउ परेका चिनियाँमध्ये तीनजनाले यसअघि भारतमा पनि सुन तस्करीमा पक्राउ परेर कारबाही भुक्तान गरेको खुलेको छ।  भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

मङ्गलबार १९ भदौ २०८० ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया