×

मौसम अलर्ट: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा 'धेरै भारी' वर्षाको सम्भावना, ४० जिल्लामा आकस्मिक बाढीको जोखिम

images

काठमाडौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहँदा आज चारवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे (धेरै भारी) वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो र राति दुवै समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा अत्यधिक वर्षा हुने देखिन्छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ । मधेश प्रदेशका धेरैजसो स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले लगातारको वर्षाका कारण देशका ४० जिल्लाका स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी (Flash Flood) आउने मध्यम जोखिम रहेको जनाएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) सहित पहाडी तथा तराईका ४० जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी र पहिरोको जोखिम रहेका मुख्य जिल्लाहरू:

  • पूर्वी नेपाल: ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु ।
  • मध्य नेपाल: सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर र चितवन ।
  • पश्चिम नेपाल: गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासी (पूर्व र पश्चिम) ।
  • पश्चिम तथा सुदूरपश्चिम: रुकुम (पूर्वी र पश्चिमी भाग), जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर ।

भारी वर्षाका कारण कमजोर भूभागमा पहिरो जाने, नदी तथा खोलाहरूमा पानीको बहाव उच्च हुने र सहरी क्षेत्रमा डुबानको खतरा रहने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपास रहने स्थानीय बासिन्दालाई पूर्ण सतर्कता अपनाउन मौसमविद्हरूले विशेष अपिल गरेका छन् । यातायात तथा दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

बुधबार २० साउन २०८३ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया