×

कोशी प्रदेश विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने

images

काठमाडौँ, २३ जेठ : कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
 
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले आज पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । उक्त विवादमा संवैधानिक व्याख्या जरुरी भएको उल्लेख गर्दै इजलासले तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासमा यही जेठ २७ गतेदेखि सुनुवाइ गर्नेछ ।

नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएपछि गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुखको उक्त निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
 
 रिट निवेदनमा प्रदेश प्रमुखले गत वैशाख २६ गते सरकार गठनका लागि गरेको आह्वान बदर गर्न, गत वैशाख ७ गते प्रदेशसभाले पारित गरेको सङ्कल्प प्रस्ताव बदर र हिक्मत कार्कीलाई मुख्यन्त्रीमा नियुक्ति बदर माग गरिएको थियो ।

बुधबार २२ जेठ २०८१ ०९:३० PM मा प्रकाशित

प्रतिक्रिया