×

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरेका छन् ।  सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो सिधा कुरा राखेका हुन् । 

सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । सो क्रममा उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश पोखेका थिए ।  सभापति  लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् । आज पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो प्रष्टीकरण दिएका हुन् ।

अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरे । अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ छ ।

लामिछानेले भने, ‘मैले नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन । मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ ।’

रविले थपे, ‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ । मैले कसको कहाँ के बिराएँ ? भोलि कानून संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ । म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’

आइतबार​ २२ माघ २०७९ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया