×

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादी केन्द्रको अपिल

images

काठमाडौँ, १८ कात्तिक : नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गी सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गर्नुभयो । 

गए राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । 

 भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गर्नुभएको हो । उहाँले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिनुभएको छ ।

विपद्को यस घडीमा घाइतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उहाँले माग गर्नुभएको छ । 

शनिबार १८ कात्तिक २०८० १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया