१८ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि सङ्घीय राजधानी काठमाडौँमा औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनको भव्य उद्घाटन दिउँसो ठीक २:०० बजे ऐतिहासिक खुलामञ्च (टुँडिखेल) मा हुँदैछ। “परम्पराको सम्मान, परिवर्तनको संकल्प– समृद्ध नेपालका लागि बलियो नेपाली कांग्रेस” भन्ने मूल नाराका साथ सुरु हुन लागेको यो महाकुम्भ आगामी असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।
वि.सं. २००२ सालको दोस्रो विशेष महाधिवेशन र वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएको घोषणा गरिएको ऐतिहासिक स्थल खुलामञ्चमा हुन लागेको उद्घाटन सत्रमा सहभागी हुन देशका ७७ वटै जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरूबाट ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।
शीर्ष नेताहरूको जमघट र देउवाको निम्तो
महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा नेकपा एमालेका महामन्त्री शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू सहभागी हुने निश्चित भइसकेको छ।
पार्टीभित्र एकताको सन्देश दिन सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो पठाए पनि देउवा पक्षले यो महाधिवेशनलाई बहिष्कार गरी समानान्तर गतिविधि गरिरहेकाले उनको सहभागिता भने अझै अन्योलमा छ।
नीति र नेतृत्व चयनको डिजिटल अभ्यास
प्रवक्ता देवराज चालिसेका अनुसार यो महाधिवेशन केवल नेतृत्व चयनमा मात्र केन्द्रित नभएर मुख्य रूपमा 'नीति चयन' को महाधिवेशन हुनेछ । असोज १९ र २० गते चल्ने बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीको राजनीतिक, आर्थिक तथा संरचनागत सुधारसम्बन्धी महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्नेछन् । यसपटक बन्दसत्रलाई प्रविधिमैत्री बनाउँदै भूगोलका आधारमा प्रतिनिधिहरूलाई तीनवटा फरक-फरक हलमा डिजिटल बोर्डमार्फत प्रतिवेदनमाथि सामूहिक छलफल गराइने नयाँ अभ्यास सुरु गरिएको छ।
सोमबार मनोनयन दर्ता, २१ र २२ गते मतदान
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको मनोनयन दर्ता भोलि असोज १९ गते सोमबार दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म राष्ट्रिय सभागृह (सिटी हल) मा तोकेको छ । महाधिवेशनले आगामी ५ वर्षका लागि कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछ, जसका लागि असोज २१ र २२ गते (बुधबार र बिहीबार) मतदान हुने कार्यतालिका छ।
स्वास्थ्य र ट्राफिक व्यवस्थापनको विशेष तयारी
महाधिवेशन स्थल खुलामञ्चको पश्चिमी भागमा ३० जना स्वास्थ्यकर्मीसहितको ५ वटा स्टल भएको विशेष हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँ आकस्मिक सेवा, औषधी र रक्तचाप तथा सुगरको निःशुल्क जाँच गरिनेछ। गम्भीर बिरामी परेका प्रतिनिधिलाई वीर अस्पताल र ट्रमा सेन्टर लैजान २ वटा एम्बुलेन्स चौबीसै घण्टा तयारी अवस्थामा राखिएका छन्।
त्यसैगरी, ट्राफिक व्यवस्थापनका लागि धरहराको भूमिगत पार्किङ, अन्नपूर्ण होटल र भृकुटीमण्डप क्षेत्र तोकिएको छ भने माइतीघरदेखि भद्रकाली गुड्ने ठूला बसका लागि एक लेन छुट्टै आरक्षित गरिएको छ।
प्रतिक्रिया