बुटवल । नारायणगढ–बुटवल सडक निर्माणको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।
नारायणगढ–बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ ।
सडक आयोजनाका अनुसार हालको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । यो अवधिमा योजनाको सम्पूर्ण कार्य सम्पन्न हुने सडक आयोजनाले दाबी गरेको छ ।
यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ । योसहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।
यस सडक खण्डमा ११३ किलोमिटर सडकमा ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर नाली निर्माण गर्ने कार्य रहेको सडक योजनाले जानकारी दिएको छ । त्यसैगरी सडक निर्माणतर्फ ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति गर्ने लगायत रहेका छन् ।
प्रतिक्रिया