काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलेयस्तो बताएका हुन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो ।
उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे । 'अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो। यी घटनाहरू भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ,' उनले भने।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा नलाग्न उनले चेतावनी दिए ।
प्रतिक्रिया