काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार भएको खेलमा पंजाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले पहिलो पटक आईपीएलको उपाधि जितेको हो।
फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जितका लागि दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको पंजाबले २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन बनायो।
पंजाबका शशांक सिंह अर्धसतकीय पारी खेलेपनि टोलीलाई उपाधि दिलाउन सकेनन्। उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६१ रन बनाए भने जोश इंग्लिसले ३९ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। यस्तै प्रभसिमरन सिंहले २६ तथा प्रियांश आर्याले २४ रन बनाए। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान दुई/दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो।
बेंगलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ३ चौका प्रहार गरे। कप्तान रजत पाटिदारले १६ बलमा २६ रन बनाए। मयंक अग्रवालले १८ बलमा २४ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। लियाम लिभिङ स्टोनले १५ बलमा २५ रन जोडेर पभेलियन फर्किए। उनले २ छक्का प्रहार गरे।
यस्तै विकेट जितेश शर्माले १० बलमा २४ रन बनाउँदा रोमारियो शेफर्डले ९ बलमा १७ रन बनाए। पञ्जाबका लागि कायल जेमिसन र अर्शदीप सिंहले समान ३/३ विकेट लिए।
प्रतिक्रिया