×

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डस्विरुद्ध ब्याटिङ गर्दै

images

काठमाडौँ, २२ जेठ : आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  
 
    नेपाल र नेदरल्यान्डस् दुवै आजको पहिलो खेलमा जितको खोजीमा हुनेछन् । नेपाल र नेदरल्यान्डस् दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो । 

    सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डस्ले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए । हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन्् । नेदरल्यान्डस् ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो । 

    टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डस्को पाँचौ सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । त्यतिबेला नेपालले हङ्कङ् र अफगानिस्तानलाई पराजित गरेको थियो । बङ्गलादेशसँग हार बेहोरेपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो । 

    नेदरल्यान्डस्विरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा र  सागर ढकालले खेलिरहेका छन् । 

    नेपालले काठमाडौँमा गत वर्ष कात्तिकमा भएको एसिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ । विश्वकपमा नेपाल र नेदरल्यान्डस् समूह ‘डी’ मा रहेका छन् । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश समेत छन् । 

मङ्गलबार २१ जेठ २०८१ ०९:४९ PM मा प्रकाशित

प्रतिक्रिया