×

सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको आग्रह

images

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नभएको छ् । उहाँले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन आग्रह गर्नभएको हो ।

आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिक स्तरबाट प्रदर्शन सुरु भएपछि उहाँहरुले राजिनामा दिनभएको हो । ५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

गत बिहीबार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति राजपाक्षेको निजी निवास घेराउका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए । त्यसपछि सरकारले देशभर संकटकाल लगाएको छ ।

सोमबार २१ चैत २०७८ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया