×

‘कर्णालीमा ग्रेजुएट सम्मेलन २०२२’ सुरु

images

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्रेजुएट सम्मेलन सुरु भएको छ । यहाँको नवीन खोज, अनुसन्धान तथा सम्भावना बढाउन तथा कर्णालीमा आठौँ सम्मेलन सुरु गरिएको हो । 

आठौँ ग्रेजुएट सम्मेलनमा विभिन्न १२ वटा विषयगत प्रस्तुतिकरणअन्तर्गत दर्शनशास्त्र र विकास, खाद्यसुरक्षा, जलस्रोत तथा ऊर्जा, शिक्षा तथा व्यवस्थापन शास्त्र, कृषि तथा वन, जलवायु परिवर्तन र प्रकोप, समाजशास्त्र, प्रदूषण, नवपर्वतनजस्ता विषयमा सहभागीले मौखिक तथा प्रस्तुति दिने मध्यपश्चिम विश्विद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सहप्राध्यापक सुदीप ठकुरीले जानकारी दिनुभयो ।

“पहिलो पटक खोज, अनुसन्धानमा रुची राख्नेका लागि ग्रेजुएट सम्मेलन आज सुरु भएको छ र यो कर्णालीका लागि सुर्वण अवसर हो । खोज अनुसन्धान गर्नेका लागि ग्रेजुएट सम्मेलन एउटा महत्वपूर्ण प्लेटफर्म हुनेछ”, डीन डा ठकुरीले भन्नुभयो, “सम्मेलनमा नेपालसहित छ देशका करिब २०० गे्रजुएट, पोष्ट ग्रेजुएट, तथा प्रि–पीएचडी अध्ययनरत शोध तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गर्ने र कर्णाली केन्द्रित समस्याको विस्तृत व्याख्या तथा विश्लेषण भएको छ ।”

उहाँले सम्मेलन भोलिसम्म चल्ने बताउनुभयो । डा ठकुरीका अनुसार सम्मेलनमा नेपालसहित भारत, इथोपिया, चीन, थाइल्याण्ड, भुटानलगायत शोध तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरेका छन् । सामूहिक छलफल तथा उत्कृष्ट अनुसन्धान तथा शोधकर्तालाई सम्मान गर्ने कार्यक्रम जनाइएको छ ।  उहाँका अनुसार कर्णाली प्रदेशका शोध तथा अनुसन्धानमा रुची राख्ने विद्यार्थीहरूले  सःशुल्क सम्मेलनमा सहभागिता गर्ने व्यवस्था मिलाइएको छ ।

सम्मेलनको नारा ‘कनेक्टिङ डट्स रिसोर्स एण्ड प्रोस्पेरिटी’ राखिएको छ । कर्णाली लक्षित भूगोलमा भएका प्राकृतिक, सांस्कृतिक तथा अन्य स्रोतहरूको बहुआयामिक उपयोग गरी युवा वैज्ञानिक सिर्जनात्मक सोच र नवप्रवर्तनहरूका संयोजन गरिने रिसोसेज हिमालयन फाउण्डेशनका कार्यकारी निर्देशक डा दिनेश न्यौपानेले बताउनुभयो । 

मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय सुर्खेत, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, रिर्सोसेज हिमालय तथा आई सेट नेपाललगायत विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा सम्मेलन आयोजना भएको जनाइएको छ । 

सोमबार २१ चैत २०७८ ०९:५५ PM मा प्रकाशित

प्रतिक्रिया