×

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि चारवटै सुरक्षा निकाय परिचालित हुँदै, ८० हजार सेना ब्यारेक बाहिर

images

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गर्दै कार्यविधिअनुसार मुलुकभर आजदेखि सेना परिचालन गर्न लागेकोहो ।

सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने छ । सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए ।

निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुने छन् । आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ ।

सेनाका अनुसार नेपाली सेनाबाट मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन्। नेपाल प्रहरीका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिने छन् । प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुनेछन भने सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुने छन् । त्यस्तै, १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिने छन् ।

निर्वाचन सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा निर्माण गरिएको छ। मतदानस्थलको सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन्। दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ भने नेपाली सेनाले सबैभन्दा बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। यसका साथै सेनाले मतपत्र छपाइ, ढुवानी, कारागार तथा विमानस्थल जस्ता महत्त्वपूर्ण संरचनाको सुरक्षा र मतगणना स्थलको सुरक्षा समेत गर्नेछ ।

बुधबार २२ माघ २०८२ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया