×

सहकारी ठगी प्रकरण- चितवनमा रवि लामिछानेसहित कुल ३२ जनाविरुद्ध मुद्दा दर्ता

images

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ। सहकारीको रकम अपचलनसम्बन्धी तीन जिल्लामा मुद्दा विचाराधीन रहेका अवस्थामा रविविरुद्ध चौथो मुद्दा दर्ता भएको हो।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले रविविरुद्ध सहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको बताइएको छ। रविविरुद्ध कास्की, काठमाडौं र रूपन्देही जिल्लामा दर्ता भएका मुद्दा विचाराधिन छन्। उनले हालसम्म धरौटी वापत सवा २ करोड रुपैयाँ बुझाइसकेका छन्।

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको विश्वकर्माले बताए । उक्त मुद्दामा बुधबारदेखि बहस हुने उनले बताए । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएसँगै चितवन झिकाउन पत्राचार गरिएको उनको भनाई छ ।

मुद्दा दर्ता भएसँगै रवि लामिछाने स्वयम् अदालतमा उपस्थित हुन काठमाडौँबाट चितवन आउने क्रममा रहेको जानकारी गराइएको सूचना अधिकारी विश्वकर्माले बताए ।

अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

मङ्गलबार २२ माघ २०८१ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया