×

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

images

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै मनाइदै छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि भने बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका  अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले बताए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरूले राजधानी काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित महादेवको मन्दिरको एक कुनामा रहेको गोपालेश्वर महादेवको दर्शन गरि एक अर्कामा टिका लगाउने प्रचलन छ ।

सुरुमा ‘न्हुः पुखु (नयाँ पोखरी)’ भनिने उक्त पोखरी राजा प्रताप मल्लले विसं १७२७ मा आफ्ना माहिला छोरा चक्रवतेन्द्र मल्लको स्मरणमा निर्माण गरेका थिए | रानीपोखरीको महादेव मन्दिर भाइटिकाको दिनमात्र खोलिने गरिन्छ |

आइतबार​ १८ कात्तिक २०८१ ०६:४२ AM मा प्रकाशित

प्रतिक्रिया