×

आइपिएल टिम आरसीबी बिक्रीको चर्चा, कसले किन्दैछ ?

images

काठमाडौँ । २०२५ को आईपीएल च्याम्पियन, रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई लगभग १७ हजार करोड भारुमा बेच्न सकिने रिपोर्ट बाहिरिएको छ । भारतीय मिडिया रिपोर्टहरूका अनुसार, खोप निर्माता सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले फ्रान्चाइजी किन्न बोली लगाइरहेको उल्लेख छ । 

बुधबार मात्र, अदार पूनावालाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे- 'आरसीबी सही मूल्याङ्कनमा एक उत्कृष्ट टोली हो ।' यसअघि, आईपीएलका संस्थापक ललित मोदीले आरसीबीका मालिकहरूले यसलाई बेच्ने अन्तिम निर्णय गरिसकेको दाबी गरेका थिए ।

यद्यपि, आरसीबीको मालिक कम्पनी, डियाजियोले आफ्नो सम्पूर्ण हिस्सेदारी बेच्छ वा केही अंश मात्र बेच्नेछ भन्ने कुरा अझै स्पष्ट छैन । डियाजियोले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यदि आरसीबीलाई १७ हजार करोड भारुमा बेचियो भने, यो आईपीएल इतिहासको सबैभन्दा ठूलो सम्झौता हुनेछ ।

ललित मोदीले सामाजिक सञ्जालमा आरसीबीका मालिक बेच्ने निर्णयमा पुगेको दाबी गदै आरसिबीको बलियो फ्यान फलोइङ, उत्कृष्ट व्यवस्थापन, र हालैको आइपिएल उपाधि जितले यसलाई लगानीकर्ताहरूको लागि आकर्षक सम्पत्ति बनाउने उल्लेख गरेका छन् ।

साथै उनले यो बिक्रीले आइपिएल फ्रान्चाइजीको लागि नयाँ रेकर्ड मूल्याङ्कन सेट गर्ने  र सबै टोलीहरूको लागि नयाँ 'फ्लोर प्राइस' बन्ने समेत दाबी गरेका छन् ।

सन् २०२१ मा दुई नयाँ टोलीहरू, लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्स, आइपिएलमा थपिएका थिए, लखनऊलाई आरपीएसजी समूहले ७ हजार ९० करोड भारुको बोली लगाएर किनेको थियो भने गुजरातलाई सिभिसी क्यापिटलले ५ हजार ६२५ करोडको बोलि लगाएर किनेको थियो । यो आइपिएल टिमको अहिलेसम्मको उच्च मुल्य हो ।

हाल आएर आरसीबीको २ अर्ब डलरको मूल्याङ्कन, वा लगभग १७ हजार करोड भारुको मूल्याङ्कन, लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्सको खरिदभन्दा धेरै बढी छ ।

जुन ३ मा आईपीएल जितेपछि, स्रोतहरूलाई उद्धृत गर्दै ब्लूमबर्गको रिपोर्टले युनाइटेड स्पिरिट्स (यूएसएल) ले आरसीबीलाई २ अर्ब डलरमा बेच्ने विचार गरिरहेको बताएको थियो ।

यद्यपि, म्याकडोवेलको ह्विस्कीको निर्माता युनाइटेड स्पिरिट्सले आईपीएल टोली रोयल च्यालेन्जर्स बैंगलोरको बिक्रीको रिपोर्टलाई गलत भन्दै खारेज गरेको थियो । 

यूएसएल पहिले विजय माल्याको स्वामित्वमा थियो । माल्याको दिवालियापन पछि, यो ब्रिटिश मदिरा कम्पनी डियाजियोद्वारा अधिग्रहण गरिएको थियो, जुन आरसीबीको स्वत: मालिक बन्यो ।

विजय माल्याले २००८ मा आरसीबीलाई १११.६ मिलियन डलरमा खरिद गरेका थिए । त्यो रकम त्यतिबेला लगभग ४७६ करोड भारु थियो । त्यतिबेला यो दोस्रो सबैभन्दा महँगो आईपीएल टोली थियो। माल्याले आफ्नो कम्पनी युएसएल मार्फत आरसीबीको स्वामित्व लिएका थिए ।

२०१४ मा, डियाजियोले युएसएलमा बहुमत हिस्सेदारी प्राप्त गरे, र २०१६ सम्ममा, माल्याको बहिर्गमन पछि, डियाजियोले आरसीबीको पूर्ण स्वामित्व प्राप्त गरे । हाल, आरसीबी युएसएलको सहायक कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड (आरसीएसपीएल) द्वारा सञ्चालित छ ।

यसअघि, अक्टोबर २०२४ मा, आदर पूनावालाले बलिउड निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सनको आधा हिस्सेदारी किनेका छन् । करण जोहर र आदर पुनावालाबीचको सम्झौता एक हजार करोड भारुमा भएको थियो । यद्यपि, धर्मा प्रोडक्सनले कम्पनीको आधा हिस्सा आफ्नो स्वामित्वमा राखेको छ र करण जोहर कार्यकारी अध्यक्ष नै छन् ।

आईपीएल २०२५ को ट्रफी जितेपछि, आरसीबी सबैभन्दा मूल्यवान टोली बनेको छ, जसले पाँच-पाँच ट्रफी जितेका मुम्बई र चेन्नईलाई पछि पारेको छ । त्यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यापारिक मूल्य २०२५ मा १८.५ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.९ प्रतिशतले वृद्धि भएको छ ।

शुक्रबार​ १७ असोज २०८२ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया