×

क्रिकेट विश्वकप लिग-२- सन्दीपको कप्तानीमा नेपालको अन्तिम टोली घोषणा

images

काठमाडौं- नेपालले दुई सातापछि युएईमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम टोली घोषणा गरेको छ। घोषणा टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन् ।

तीव्र गतिका बलर गुलशन झा र स्पिनर सुशान भारी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । अनिल कुमार शाह र राजु रिजाल पनि बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । नेपालले युएई जानुअघि श्रीलंका स्थानिय टोलीसँग चार अभ्यास खेल खेल्ने छ। त्यसका लागि टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छ। त्यसपछि नेपाल १४ मार्चमा युएई जानेछ।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ। त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ। २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन्। बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

बिहीबार १९ फागुन २०७८ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया