×

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - नेता सिंह

images

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उहाँले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो ।

आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।   नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
    
नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गर्नुभयो । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

त्यस्तै उहाँले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा भइरहेको जिल्ला कार्यसमिति बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायतका नेताको उपस्थिति छ । बैठक आगामी निर्वाचनका लागि सङ्गठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने कांग्रेसले जनाएको छ ।

बिहीबार १९ फागुन २०७८ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया