×

मारिए हमासका शीर्ष नेता

images

काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।

तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ । हमासले भने एल-अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।

बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट व्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । अरुरीमाथि अमेरिकाले पाँच मिलियन डलर इनाम घोषणा गरेको थियो । उनी हमासको सैन्य विङ्ग र कासिम बि्रगेडको संस्थापकमध्येका एक हुन् । यही कासिम बि्रगेडले गत ७ अक्टुबरमा इजरायलमा भिषण आक्रमण गरेको थियो । त्यसै दिनदेखि इजरायलले हमासलाई समाप्त पार्ने भन्दै सैन्य कारबाही जारी राखेको छ ।

बुधबार १८ पुस २०८० १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया