×

भीम रावललाई बालेनको जवाफ- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । रावलले मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए । 

त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ रावलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले यस्तो बताएका हुन् । 

भेटका क्रममा महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बालेनले दाबी गरेका छन् । उनले अगाडि लेखेका छन् ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ’, बालेनले अगाडि लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

 

शुक्रबार​ १६ मंसिर २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया