काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा 'आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेर हटाएका छन् । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् ।
हटाएको पोष्टको स्क्रीन शट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त पोष्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केहि गर्न नसक्ने बताएका थिए । बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
पछिल्लो समयमा जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएर आफु लुकेको आरोप लागेका बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर कार्की नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट जनाएको विषय चर्चामा रहेको छ । सामाजिक सञ्जाल र मिडियामा बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समेत समाचार आइरहेका छन् । जेनजी आन्दोलनसँग जोडिएर आलोचना खेप्दै आएका बालेनले आफ्नै स्ट्याटसका कारण फेरी विवादमा परेका छन् ।
प्रतिक्रिया