काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण पुगेको महाविपत्तिमा परेर ज्यान गुमाउनेको संख्या १,११४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, नवलपरासी र चितवनका विभिन्न स्थानबाट मृतकसहित मानव अवशेषहरू संकलन गरिएका हुन्।
प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीका कारण अझै करिब चार हजार (३,९१६ भन्दा बढी) मानिसहरू बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा स्थानीय बासिन्दा, जलविद्युत् आयोजनामा कार्यरत कामदार, सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारी र ठूलो संख्यामा विदेशी पर्यटकहरू समेत रहेका छन्।
बाढीले रसुवागढी नाका, बेत्रावती–रसुवागढी सडक खण्ड, दर्जनौँ पक्की तथा झोलुङ्गे पुल र जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा ध्वस्त पारेको छ। हाल प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य निरन्तर जारी राखिएको छ।
दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका स्थानहरूमा हेलिकप्टरमार्फत औषधि, खाद्यान्न र उद्धार सामाग्री पुर्याउने काम भइरहेको छ। अस्पतालहरूमा पहिचान हुन नसकेका शवहरू राखिएको र आफन्तहरूलाई पहिचानका लागि सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया