पोखरा । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा चार मन्त्रालय लिएर एमाले सहभागी भएको हो ।
मन्त्रालयहरूको बाँडफाँट र अन्यदलहरूलाई समेट्ने विषयमा कांग्रेस र एमालेबीचको गलफत्ति मन्त्रालय फुटाउने सहमतिमा टुंगिएपछि एमाले सरकारमा सहभागी भएको हो । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ । एमाले सरकारमा सहभागी हुँदै गर्दा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रिपरिषद्मा निरन्तरता पाएका छन् । उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनी यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । मनाङेलाई मन्त्री नै बनाउन नहुने अडान एमालेको थियो । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई संकटका बेलामा बुहमत जुटाउन साथ दिएकाले उनलाई कुनै हालतमा मन्त्री बनाउने अडान लिएका थिए । त्यसपछि मन्त्रालय फुटाएर भए पनि मनाङेलाई मन्त्रिपरिषद्मा समेटिएको हो ।
प्रतिक्रिया