×

सन अफ सरदार- २ र धडक- २ को औसत शुरुवात, सैयाराको दबदबा कायमै

images

काठमाडौँ । बलिउडमा फेरि एक पटक बक्स अफिसमा ठुला फिल्मको भिडन्त भएको छ । हालै रिलिज भएका धेरै फिल्महरूले दर्शकहरूलाई सिनेमाघरहरूमा आकर्षित गर्न सफल भएका छन् भने केही फिल्महरूको ओपनिङ अपेक्षाभन्दा कम भएको छ । जुलाई १८ मा रिलिज भएको सैयाराको दबदबा बक्सअफिसमा कायम रहेका बेला अगस्ट १ मा रिलिज भएका फिल्म 'सन अफ सरदार २' र 'धडक २' ले औसत शुरुवात गरेका छन् ।

'सन अफ सरदार २'

अजय देवगनको हिट फिल्म सन अफ सरदारको सिक्वेल सन अफ सरदार- २ तिलिज भएको छ । यद्यपि, फिल्मले पहिलो दिन मात्र ६.७५ करोडको व्यापार गरेको छ । यो कलेक्सनलाई ठूलो बजेटको फिल्मको लागि औसत मानिन्छ । सप्ताहन्तमा फिल्मको कमाई बढ्न सक्ने विश्वास गरिएको छ तर सुरुवाती कमाई निराशाजनक रहेको छ ।

धडक- २

फिल्म धडकको सिक्वेल धडक- २ को बारेमा दर्शक उत्सुक थिए, तर फिल्मले पहिलो दिन ३.३५ करोड रुपैयाँ कमाएको छ । फिल्मको कथा र स्टारकास्टलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ, यस फिल्ममा सिद्धान्त चतुर्वेदी र तृप्ति डुमरीको प्रमुख अभिनय रहेको छ ।

सैयारा

सैयाराले धेरै समयदेखि बक्स अफिसमा दबदबा बनाएको छ । फिल्म रिलिज भएको १५ दिन भइसकेको छ र यसका बाबजुद पनि दर्शकको माया कायमै छ । १५औं दिनमा फिल्मले ४.२५ करोड कमाएको छ र अहिलेसम्म करिब २९० करोडको जबरदस्त कलेक्शन गरेको छ । तर, अब फिल्मको कलेक्शन पहिलेको तुलनामा घट्दै गएको छ । यो फिल्म यस वर्षको सबैभन्दा ठूलो हिट फिल्मको सूचीमा समावेश भएको छ ।

महावतार नरसिंह

यो धार्मिक र पौराणिक फिल्मले बिस्तारै आफ्नो पकड बलियो बनाएको छ । ८औं दिनमा ७.५० करोड रुपैयाँ कमाउँदै फिल्मको कुल कलेक्शन ५१.७५ करोड पुगेको छ । सानो बजेटको फिल्म भए पनि, यसले गरेको प्रदर्शन प्रशंसनीय छ ।

 

शनिबार १८ साउन २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया