काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । इन्द्रजीत राई पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार रहेका थिय । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।
उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको समाचार प्रकाशित भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
प्रतिक्रिया