×

नीति कार्यक्रमको गन्तव्य नै स्पष्ट छैन- वर्षमान पुन

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम अलमल र चलखेलजस्तो देखिएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहाचिव पुनले सरकारले सुशासनको कुरा गरेपनि नीति तथा कार्यक्रममा छाँटकाँट नै नदेखिएको बताए । नीति कार्यक्रमको गन्तव्य नै स्पष्ट नरहेको उनको दाबी छ ।

‘सुशासनको कुरा गर्थ्यो । केही छाँटकाँट नै देखिएन । अहिले पनि नीतिमा गन्तव्य स्पष्ट देखिएन । अर्को कुरा चाहीँ कार्यक्रममा आफूखुसी, नीति कार्यक्रममा नबोलिसकेपछि पछि बजेटमा आफूखुसी कार्यक्रम राख्न खोजेको हो कि जस्तो पनि देखिन्छ । संसद्लाई छलेर नीतिमा नभएको कुरा कार्यक्रममा नभएको कुरा पछि बजेट राख्ने नैतिक कुरा होइन । यस्तो खालको देखिन्छ । यसो हुँदा एकातिर अलमल छ । अर्कोतिर चलखेल गर्न, आफुखुसी गर्न जनप्रतिनिधि संस्थाालाई छल्न खोजेको जस्तो पनि देखिन्छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग दुई दलसँगको सम्बन्ध र नेपाल भारतबीचको सम्बन्धको बारेमा छलफल भएको बताए । भाजपाको विदेश विभाग प्रमुख चौथाइवालेले नेपालमा राजावादी भनिनेहरुको आन्दोलनमा आफूको कुनै समर्थन र सद्भाव नरहेको बताएको पनि उनले सुनाए । ‘उहाँबाट नेपालमा राजावादी वा राजावादी भनिनेहरुलाई हाम्रो कुनै समर्थन पनि छैन, सद्भाव पनि छैन भनेर स्पष्ट रुपले उहाँले बताउनुभयो,’– उपमहासचिव पुनले भने ।

त्यस्तै, भारतको जम्मू काश्मिरमा भएको भएको आतङ्कवादी हमलाको विरुद्धमा नेपालले देखाएको समर्थनको भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले प्रसंशा गरेको पनि नेता पुनले बताए । उनले भने, ‘भर्खरै काश्मिरको पहलगाममा जसरी हत्या गरियो, आतङ्क फैलाइयो । त्यसको विरुद्ध नेपाली जनता, माओवादी पार्टी र नेपाल सरकारले लिएको अडान खुसीको कुरा हो । नेपाली जनतालाई धन्यवाद छ भन्नुभयो ।’

शुक्रबार​ १९ बैशाख २०८२ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया