काठमाडौं। काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गरेको बताइएको छ।
पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
काठमाडौंको टोखा भेटिएका पटेल भाग्न खोज्दा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। २०७९ असोज ३ गते साँझ गोठाटारमा हरिवन–२, सर्लाहीका मोहम्मदकाे हत्या भएको थियो।
काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए ।
मोहम्मदको हत्या किन भएको थियो भन्नेबारे प्रहरीले त्यसबेलादेखि नै अनुसन्धान गरिरहेको थियो । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनै पटेललाई आइतबार गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया